चिया

 

चिया

चिया शुभत्वको प्रतिक हो

त्यसैले त चिया पहिलो आहार हो ।

चिया जल हो

चिया मुक्तिदाता हो

धुलोबाट मुक्ति

होहल्लाबाट मुक्ति

तनाबबाट मुक्ति ।

आखिर रोग तनाबकै त उपज हो

त्यसैले चिया औषधि हो ।

चिया आनन्द हो

आनन्द त हाम्रो खोज हो

त्यसैले चिया खोज हो

शान्तिको खोज

स्वतन्त्रताको खोज ।

हो, चिया माया हो ! भ्रम हो !

संसार पनि त माया हो

त्यसैले चिया नै संसार हो ।

चियाले एकान्तमा साथ दिन्छ

भिडबाट मुक्ति

त्यसैले चिया साथी हो,

कृषकको साथी

बेरोजगारको साथी ।

अनि चिया प्रेमको प्रतिक हो

प्रेम गर्नेलाई छाड्न पनि त गाह्रो हुन्छ

चियाले प्रेम गर्छ

त्यसैले त चिया छाड्न गाह्रो हुन्छ ।

 

अनि चियाले चिन्ताबाट मुक्ति दिन्छ

म त भन्छु

नेताले सपथ लिनुपुर्व चिया अनिवार्य होस्

अनि चियालाई राष्ट्रिय पेयपदार्थ घोषित गरियोस् ।

किनकि

चियामै गफ छ

चियामै सब छ ।

Comments

Popular Posts